नियम ३०
नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको गठन
(१) नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको गठन देहाय बमोजिम हुनेछ:-

(क) निर्देशक, नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज - अध्यक्ष

(ख) विश्वविद्यालय तथा प्रतिष्ठानका डीनहरुमध्ये समितिबाट मनोनीत दुई जना - सदस्य

(ग) रजिष्ट्रार, नेपाल मेडिकल काउन्सिल - सदस्य

(घ) चिकित्सा शिक्षाका ख्याति प्राप्त विज्ञहरूमध्ये समितिबाट मनोनीत एक जना महिला - सदस्य

(ङ) सहसचिव, स्वास्थ्य सम्बन्धी विषय हेर्ने नेपाल सरकारको मन्त्रालय -सदस्य

(च) वरिष्ठ अधिकृत, नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज-सदस्य-सचिव

(२) उपनियम (१) को खण्ड (ख) र (घ) बमोजिम मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ र निजको पुन मनोनयन हुन सक्नेछ।

(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि मनोनीत सदस्यले आफ्नो पद अनुरुपको आचरण नगरेमा वा जिम्मेवारी पूरा नगरेमा निजलाई समितिले जुनसुकै बखत सदस्यको पदबाट हटाउन सक्नेछ। तर त्यसरी पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।

(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) को खण्ड (ख) बमोजिमको सदस्य मनोनयन हुँदाको बखतको पदमा बहाल नरहेमा निजको पदावधि स्वतः समाप्त हुनेछ र रिक्त पदमा सोही खण्ड बमोजिमको प्रक्रिया अपनाई मनोनयन गरिनेछ।